दिमाग बढाउने स्क्राबल खेलका प्रमुख फाइदाहरू: बौद्धिक विकासदेखि रमाइलोसम्म

 

दिमाग बढाउने स्क्राबल खेलका प्रमुख फाइदाहरू: बौद्धिक विकासदेखि रमाइलो सम्म

64x64
खिम लामिछाने काजी


आधुनिक युगमा शिक्षा र मनोरञ्जनबीच सन्तुलन कायम राख्नु आजको प्रमुख आवश्यकता भएको छ। पुस्तक, कक्षा र परीक्षामुखी परम्परागत अध्ययनसँगै खेलकुदलाई पनि सिकाइको साधनको रूपमा प्रयोग गर्ने चलन बढ्दै गएको छ। यस्तै खेलहरूमध्ये Scrabble (स्क्राबल) एउटा अत्यन्त महत्वपूर्ण र प्रभावकारी खेल हो, जुन विश्वका धेरै विकसित मुलुकमा शैक्षिक खेलका रूपमा अत्यन्तै लोकप्रिय छ। नेपालमा भने स्क्राबलको विकास ढिलो भए पनि हाल यसले शैक्षिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाउँदै गएको छ।

स्क्राबल खेल केवल समय बिताउने मनोरञ्जनमूलक खेल मात्र होइन, यो एक प्रभावकारी शैक्षिक उपकरण पनि हो जसले बिद्यार्थीहरुलाई भाषागत दक्षता, शब्दभण्डार र वाक्य संरचना बुझ्ने क्षमता विस्तार गर्न मद्दत गर्छ। यसका अक्षर–टाइलहरू प्रयोग गरी नयाँ शब्द निर्माण गर्ने क्रममा विद्यार्थीहरूले भाषा, अर्थ र व्याकरणको सूक्ष्म ज्ञान आत्मसात् गर्दै जान्छन्। स्क्राबल एक महत्त्वपूर्ण मानसिक विकासको साधन हो। प्रत्येक चाल चल्दा आवश्यक पर्ने रणनीति, अंक गणना, शब्द चयन, बोर्डको स्थान उपयोग, सम्भावनाको मूल्याङ्कन जस्ता प्रक्रियाले दिमागलाई सक्रिय बनाउँदै तार्किक सोच, विश्लेषण र निर्णय क्षमतामा उल्लेखनीय सुधार ल्याउँछ।
स्क्राबल सामाजिकरण अभ्यासको उत्कृष्ट उदाहरण पनि हो। दुई वा बढी खेलाडीबीच हुने प्रतिस्पर्धाले सहकार्य, अनुशासन, खेल भावना, धैर्यता र सम्मान जस्ता सामाजिक मूल्यहरू सिक्ने अवसर प्रदान गर्छ। यसरी हेर्दा, स्क्राबल मनोरञ्जनको साधन मात्र होईन बौद्धिक विकास र सामाजिक अन्तरक्रियाको महत्वपूर्ण माध्यम बन्न पुगेको छ।
सामान्यतया, स्क्राबल प्रतियोगिताहरू अंग्रेजी र गणितमा बढी गरिन्छन्। अधिकांश स्कूल, कलेज र क्लबहरूले विद्यार्थीहरूको भाषा क्षमता, शब्दावली र व्याकरण सुधार्न अंग्रेजी स्क्राबल प्रतियोगिताहरू आयोजना गर्छन्। यसमा विद्यार्थीहरूले अंग्रेजी शब्दहरूको सही हिज्जे, उच्चारण र शब्द प्रयोग अभ्यास गर्न पाउँछन्।  यसैगरी, गणितमा आधारित स्क्राबल (Math Scrabble) प्रतियोगिताहरूले विद्यार्थीहरूको साँख्यिकीय सोच, गणना क्षमता, तार्किक क्षमता र समस्या समाधान क्षमतामा सुधार ल्याउन मद्दत गर्छ। गणित स्क्राबलमा खेलको बोर्ड र संरचना एउटै प्रकारको हुन्छ । मात्र अक्षरको सट्टा संख्या र गणितीय चिन्हहरू (+, −, ×, ÷, =) को प्रयोग गरिन्छ। खेलाडीहरूले उपलब्ध टाइलहरू प्रयोग गरी सही गणितीय समीकरणहरू वा अभिव्यक्तिहरू Mathematical Expressions बनाउँछन्। धेरै स्कोर बनाउनको लागि जटिल समीकरण वा रणनीतिक स्थानमा टाइल राख्ने तरिका अपनाइन्छ।

नेपालमा यसको विकास केही ढिलो भए पनि हाल विद्यालय, कलेज, क्लब, सामाजिक संस्थाहरू तथा युवाहरूको सक्रिय सहभागितासँगै स्क्राबल खेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। विभिन्न स्कुल, कलेज तथा संघ–संस्थाहरूले स्थानीय, जिल्ला, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गर्दै यस खेलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्। यससँगै, स्क्राबललाई सर्वसाधारणको बीचमा परिचित गराउने, बौद्धिक खेलप्रति रुचि जगाउने तथा विद्यार्थीहरूमा भाषिक र मानसिक क्षमताको विकास गर्ने कार्यमा पनि यी संस्थाहरूको उल्लेखनीय भूमिका रहँदै आएको छ। स्क्राबल खेलद्वारा विद्यार्थीहरूले धेरै प्रकारका फाइदा प्राप्त गर्न सक्छन्। यसले नयाँ–नयाँ अंग्रेजी शब्दहरू सिक्न मद्दत गर्नुका साथै भाषागत दक्षता वृद्धि गर्दछ। दिमागी खेल भएकाले यो खेलले मस्तिष्क सक्रिय बनाउँदै छिटो निर्णय लिन सक्ने क्षमता विकास गर्छ।
त्यसैगरी, स्क्राबलले प्रतिस्पर्धात्मक भावना, नियम पालना गर्ने संस्कार तथा सम्मानपूर्वक हार–जित स्वीकार्ने गुणहरू विकसित गराउँछ। विद्यार्थीको सृजनात्मक सोच, आत्मविश्वास र सामाजिक सम्बन्ध विस्तारमा पनि यसले राम्रो प्रभाव पार्दछ। समूहमा खेलिने भएकाले टोलीमा काम गर्ने कौशल र साथी बनाउने क्षमतामा वृद्धि हुन्छ। स्क्राबल शैक्षिक स्तर सुधार्ने, ध्यान केन्द्रित गर्न सिकाउने र समयमा काम पूरा गर्ने अर्थात् समय व्यवस्थापन गर्ने महत्वपूर्ण अभ्यास पनि हो।

आजका किशोर–किशोरीहरू मोबाइल गेम, पब्जी, फ्री–फायर, टिकटक, इन्स्टाग्राम र रीलजस्ता डिजिटल सामग्रीमा बढी निर्भर हुँदै गइरहेका छन्। यस्ता गतिविधिहरूले विद्यार्थीको अध्ययनमा ध्यान कम हुनुका साथै शैक्षिक स्तर कमजोर बन्दै गएको देखिन्छ। यस्तो अवस्थामा स्क्राबलजस्तो बौद्धिक खेलले उनीहरूलाई अध्ययन, सिकाइ र सृजनशील गतिविधितिर आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ। स्क्राबल युवाहरूका लागि बौद्धिक क्षमता विकास गर्ने, सकारात्मक सोच बढाउने र स्वास्थ्यकर प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने उत्कृष्ट माध्यम बन्न सक्छ। आजको डिजिटल युगमा सकारात्मक विकल्पको रुपमा स्क्राबल गेमलाई लिन सकिन्छ ।

अंग्रेजी शब्दावली सुधार: स्क्राबल खेल्दा विद्यार्थी तथा युवाहरूले नयाँ–नयाँ अंग्रेजी शब्द सिक्न सक्छन्, जसले उनीहरूको शब्दभण्डार विस्तार हुन्छ। साथै, यस खेलमार्फत स्पेलिङ (हिज्जे), उच्चारण, र शब्द प्रयोग (word usage) जस्ता भाषागत तत्त्वहरूमा पनि क्रमिक सुधार आउँछ।
मस्तिष्क र सोचाइको विकास: स्क्राबल एक दिमागी व्यायाम भएकाले यसले तार्किक सोच (logical thinking), योजना बनाउने क्षमता (planning), रणनीतिमूलक सोच (strategic thinking) र स्मरणशक्ति (memory strengthening) जस्ता मानसिक क्षमताहरूको विकास गर्न मद्दत गर्दछ।
शैक्षिक योगदान: विशेषगरी विद्यालय तथा कलेजमा अंग्रेजी विषयसँग जोडेर सिकाइमा प्रयोग गर्न मिल्ने एक उपयोगी उपकरणका रूपमा स्क्राबल प्रयोग गर्न सकिन्छ। खेल्दै–खेल्दै सिक्ने वातावरण तयार हुने, पढाइमा आउने उदासीनता (boredom) घट्ने तथा विद्यार्थीको सृजनात्मक सोच विस्तार हुने फाइदा यस खेलले प्रदान गर्दछ।

सामाजिक सम्बन्ध विस्तार: स्क्राबल समूहमा खेलिने भएकाले विद्यार्थीहरूले साथी बनाउने, समूहमा काम गर्ने, र संवाद कौशल जस्ता सामाजिक क्षमताहरू विकास गर्न सक्दछन्। विशेषगरी स्कुल तथा कलेजमा हुने स्क्राबल प्रतियोगिताले शिक्षार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग पनि जोड्न सक्छ।

विद्यालय तथा कलेज स्तरमा प्रतियोगिता सम्भावना: नेपालका विभिन्न स्कूल , कलेज र क्लबहरूसँग सहकार्य गरी प्रतियोगिताहरू आयोजना गर्न सकिन्छ, जसले विद्यार्थीहरूमा उत्साह र आत्मविश्वास बढाउने मात्र होइन, शिक्षा क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्छ।

भाषा शिक्षामा योगदान: नेपालमा अंग्रेजी शिक्षा अझै कठिन विषयका रूपमा रहँदै आएको छ। विशेषगरी सरकारी विद्यालयका विद्यार्थीहरू अंग्रेजी सिक्न हिच्किचाउँछन्। स्क्राबलले अंग्रेजी शब्दावली, उच्चारण र शब्द निर्माण क्षमतामा सुधार ल्याउँछ। यो खेल खेल्दा विद्यार्थीहरूले नयाँ शब्द सिक्छन् । पुराना शब्द दोहोर्‍याउँछन् ।शब्द प्रयोगमा आत्मविश्वास बढाउँछन् ।अंग्रेजी लेखन तथा बोलाइमा विकसित गर्छन् । स्क्राबल खेलले भाषा–प्रतिको रुचि बढाउनुको साथसाथै अंग्रेजी सिक्न डराउने विद्यार्थीलाई सिकाइ रमाइलो र आकर्षक बनाउँछ। यसले विद्यार्थीमा अंग्रेजीप्रति आत्मविश्वास, नयाँ शब्द सिक्ने उत्सुकता (curiosity to learn words) र भाषा प्रयोगमा सहजता वृद्धि गर्न मद्दत गर्दछ।

मानसिक विकास र संज्ञानात्मक क्षमता वृद्धि: स्क्राबल केवल शब्द जोड्ने खेल मात्रै होइन, रणनीति, योजना र तार्किक सोचको अभ्यास हो। हरेक चालमा मनन गर्नुपर्ने भएकाले दिमाग निरन्तर सक्रिय हुन्छ। यसले ध्यान केन्द्रित गर्न, समस्या समाधान गर्न, विश्लेषण गर्न, योजना बनाउन, निर्णय क्षमतामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्दछ। नेपालमा विद्यार्थीहरू पाठ्यपुस्तकमा मात्र केन्द्रित हुने प्रवृत्ति रहेको अवस्थामा, स्क्राबलले दिमागी व्यायाम गर्दै बौद्धिक विकासमा योगदान पुर्‍याउँछ।

शिक्षण विधिको विकास: हाल शिक्षा क्षेत्र सुधार गर्ने अभियानमा ‘रचनात्मक सिकाइ’, ‘सीप–उन्मुख शिक्षा’, ‘activity-based learning’ जस्ता अवधारणाहरू चर्चामा छन्। स्क्राबल यस अवधारणा अनुसार अत्यन्त प्रभावकारी शैक्षिक उपकरण हो। शिक्षकहरूले कक्षामा स्क्राबल खेल प्रयोग गरेर हिज्जे अभ्यास (spelling practice), समानार्थी–विपरीतार्थी शब्द अभ्यास (synonym–antonym अभ्यास) र उच्चारण अभ्यास (pronunciation exercise) गर्न सक्छन्। यसबाट सिकाइ रमाइलो र यादगार बन्न पुग्छ।

आत्मविश्वास र प्रतिस्पर्धात्मकता विकास:  स्क्राबलले विद्यार्थीहरूमा सभ्य प्रतिस्पर्धा र खेल नैतिकता विकास गर्छ। खेलमा हार-जित हुन्छ, तर खेलाडीले नियम पालना, समय व्यवस्थापन, सभ्य व्यवहार, सहयोग र सम्मान जस्ता जिवन उपयोगी कुराहरु सिक्ने अवसर पाउदछन । स्क्राबल खेलले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गराउँछ र बढाउँछ। यसले अनुशासन (discipline), खेलभावना (sportsmanship) र सम्मानपूर्वक हार–जित स्वीकार्ने क्षमता जस्ता गुणहरूमा सुधार ल्याउँछ।

विद्यालय तथा शिक्षा प्रणालीका लागि उपयोगी साधन: नेपालमा धेरै विद्यालयहरू हाल आफ्ना विद्यार्थीहरूलाई प्रतियोगिता, debate, spelling contest, quiz आदि सञ्चालन गर्दै आएका छन्। स्क्राबलले यी सबैलाई भाषा–आधारित खेलका रूपमा थप विस्तार गर्ने अवसर प्रदान गर्छ। यदि विद्यालयस्तरमै स्क्राबललाई अनिवार्य सह–शैक्षिक गतिविधिमा समावेश गरियो भने अंग्रेजी स्तरमा सुधार, सिकाइमा सक्रिय सहभागिता, कक्षाकोठा–मैत्री वातावरण निर्माण गर्न सकिन्छ।

अन्ततः स्क्राबल मनोरञ्जनसँगै भाषा, ज्ञान र मानवीय गुण–विकासको माध्यम बनेर नेपालमा शिक्षाको सशक्त साधन बन्न सक्ने सम्भावना बोकेको एक महत्वपूर्ण खेल हो। भविष्यमा विद्यालय, कलेज तथा राष्ट्रियस्तरमा स्क्राबललाई अझ व्यवस्थित रूपमा समावेश गर्न सकिएको खण्डमा नेपालका विद्यार्थीहरूको अंग्रेजी ज्ञान, आत्मविश्वास, तार्किक क्षमता र बौद्धिक विकासमा यसले अत्यन्त महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित देखिन्छ।

Tika

I am an English Language Teacher at a government school in Gulmi district. I love reading, watching film and visiting new places. Internet surfing and doing online courses are my favourite leisure time activities.

Post a Comment

Previous Post Next Post